अन्तरिम संसदबाटै नेपाललाई गणतन्त्र घोषणा गर्ने माओवादीहरुको महिनौंदेखिको प्रयास विधिवत संसदमा प्रवेश गरेको छ।
सत्ताधारी सातदलीय गठबन्धनका बीच आइतबार अबेर राती भएको सहमति अन्तर्गत संघीय लोकतान्त्रिक गणतन्त्र घोषणाको माओवादी माग पुरा गर्न आवश्यक संविधान संशोधनको प्रस्तावमाथि भोलीपल्टै छलफल शुरु भएको हो।
संसदको अर्को बैठक शुक्रबार बस्नेछ र संभवत: त्यही दिन संविधान संशोधन पारित हुनेछ।
औपचारिकता
अन्तरिम संसदले सातदलीय निर्णयलाई अनुमोदन गर्ने परम्परा भएकाले उक्त संशोधन एउटा औपचारिकता मात्र हुनेछ।
तर आउँदो चैत मसान्तभित्र गर्ने भनिएको संविधानसभाको चुनाव चौथो पटक पनि स्थगित हुँदैन भनी ढुक्क हुने स्थिति अझै नभएको धेरैको भनाई छ।
माओवादी मागका कारण पछिल्लो पटक मंसिर ६ गते हुने भनिएको चुनाव स्थगित भएपछि उत्पन्न राजनीतिक संकट अहिलेलाई पार लागेको ठानिएको छ।
एक्कासी सरकार छोडेर सडक आन्दोलनको धम्की दिएको नेकपा (माओबादी) फेरि सरकारमा फर्कन राजी भएकाले चुनावको जिम्मा लिएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पक्कै पनि राहत मिलेको हुनुपर्छ।
कानूनीरुपमा संविधानसभाको चुनावपछि मात्र लागु हुने भएपनि कागजीरुपमा भने २५० वर्षदेखि राजतन्त्रात्मक रहेको नेपाल अब संघीय लोकतान्त्रिक गणतन्त्र हुनेछ।
माओवादीहरुले यसलाई आफ्नो जीतका रुपमा लिएकाले उनीहरुबाट चुनाव बिथोलिने संभावना सकिएको विश्वास गरिएको छ।
आशंका
तर विगतमा गरिएका सहमति र संझौताको कार्यान्वयनमा कुनैपनि पक्ष इमान्दार नदेखिएकाले चुनाव भाँडिने स्थिति नदोहोरिने ग्यारन्टी छैन।
एकातिर सातदलबीच आपसी अविश्वास गहीरो छ। अर्कातिर पूर्ण समानुपातिक चुनावको माओबादी माग पुरा भएको छैन।
यो कुरामा माओवादी पार्टी भित्रै गंभीर असन्तुष्टी रहेको बताइन्छ।
त्यस्तै स्वायत्त प्रदेश र पूर्ण समानुपातिक चुनावको अडानको समर्थनमा आन्दोलन गरिरहेका जनजाति संगठनहरु र तराईमा छुट्टै आन्दोलन गरिरहेका सशस्त्र र निशस्त्र समूहहरुले सातदलीय सहमतिलाई कसरी लिन्छन भन्नेमा पनि संविधानसभा चुनावको भविष्य निर्भर गर्नेछ।
तिनका मागको सन्तोषजनक टुँगो नलागेसम्म चैतमा पनि चुनाव हुन नसक्ने चेतावनी चुनाव संचालन गर्ने जिम्मा पाएको निर्वाचन आयोगका प्रमुख आयुक्त भोजराज पोखरेलले समेत दिइसकेका छन्।
हिंड्दै गयो बाटो मेट्दै गयो भन्ने नेपाली उखान जस्तै संझौता सहमति गर्दै जाने त्यसलाई तोड्दै पनि जाने सातदलहरुको विगत संझिदा भविष्यप्रति आश्वस्त हुन नसकिने विश्लेषकहरुको भनाई छ।
Monday, December 24, 2007
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment